13/04/2017
नव वर्ष विशेष:
जहाँ ‘हारम’ फूल फुल्दा दलित राजाको नाममा लाग्छ भव्य मेला
सलहेस एक : कथा अनेक esamata.com
नयाँ वर्षको आगमनसँगै सिरहास्थित सलहेस फूलबारी आकर्षणको केन्द्र बन्ने गरेको छ । सलहेस फूलबारीमा वर्षौ पुराना रुख छन् । तीमध्ये एक पनि एउटा त्यस्तो रुख छ, जहाँ वैशाख १ गतेमात्रै विशेष फूल फुल्ने विश्वास गरिन्छ । हो, त्यस्तो फूल, जुन अवलोकन गरेर वर्षौंदेखिको सपना पूरा गर्न भारतसहितका नागरिक आउने गर्दछन् ।
सिरहाको व्यावसायिक केन्द्रद्र लहानदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब चार किलोमिटर पश्चिम भोटियाटोल चोकनजिकै रहेको सलहेस फूलबारीको विशेषता हो यो । यही फूलबारीमा रहेका अनेकौं रुखमध्ये चर्चित रहेको छ ‘हारम’ नामक रुख । वर्षौं पुरानो रुख ‘हारम’मा सेतो र हल्का बैजनी रंगमा माला आकारमा फुल्ने फूलप्रतिको आकर्षण बढ्दो छ ।
सलहेस फूलबारीमा वर्षौ पुराना रुख छन् । तीमध्ये एक पनि एउटा त्यस्तो रुख छ, जहाँ वैशाख १ गतेमात्रै विशेष फूल फुल्ने विश्वास गरिन्छ ।
स्थानीय दिनेश चौधरी (डिसी)का अनुसार लहान नपाका ११ र २२ मा रहेको जंगली रुखहरुको फूलबारी लोकनायक सलहेसको गाथासँग सम्बन्धित छ । कथनअनुसार मिथिला राज्यका राजा जनकपछि त्यस्ता प्रभावशाली राजा कोही भएनन् । तेह्रौं शताब्दीमा सलहेस प्रभावशाली राजाका रुपमा देखापरे । १३२५ सालमा राजा सलहेसले महिसोथालाई राजधानी बनाए । पहाडले ढाकिएको महिसोथा हाल सिरहाको सदरमुकाम सिरहा नजिक छ । महिसोथामाथि तिब्बती लडाकुहरुले पटक–पटक आक्रमण गरेको र सलहेसले ती आक्रमणलाई बिफल बनाइदिएको कथन छ । सलहेसको वीरता एवम् पराक्रमलाई मूल्याङ्कन गर्दै उनलाई ‘शैलेस’ भन्न थालियो, जसको अर्थ हुन्छ ‘पर्वतका राजा’ । यही ‘शैलेस’ शब्द बदलिएर ‘सलहेस’ भएको भनाइ छ । सलहेसको वास्तविक नाम ‘जयवद्र्धन’ हो । उनका बुबा नरपत नरेश थिए भने आमा मन्दोदरी रानी । सलहेस दुसाद (पासवान) जातिका थिए । सुन्दर र पराक्रमी सलहेसबारे सलहेस गाथामा यस्तो लेखिएको छ– ‘सलहेस पानीमाथि कुद्न सक्थे ।’
महिसोथा राज्यदेखि १४ माइल उत्तर–पूर्व दिशामा ‘मानिकदह’ छ, जहाँ सलहेस सधै पूजा गर्नुभन्दा अगाडि नुहाउने गर्थे । उक्त दह सलहेस फूलबारीदेखि उत्तर दिशामा रहेको छ । सलहेसका मोतीराम र बुधेश्वर नामका दुई भाइ थिए । हिरामान नामक सुगा पनि थियो, जो मंगल महावत नामक माहुतेसँग हातीमा आउने जाने गथ्र्यो । सुगा सलहेसका लागि सञ्चार आदानप्रदानको माध्यम बनेको थियो । सलहेस मानिकदहमा नुहाएर पूजाको निम्ति फूल टिप्न फूलबारी पुग्ने गर्थे । त्यहाँ रेशमा, कुसमा, दौना र हिरिया नामका मालिनी दिदीबहिनीसँग भेट हुने गर्थ्यो । यही क्रममा सलहेसको कुसमासँग प्रेम बस्यो । उनले फूल टिप्ने गरेको र फूल टिप्दा मालिनीहरुसँग भेट भएको फूलबारी नै अहिलेको सलहेस फूलबारी हो ।
वैशाख १ गते फुल्ने फूल उनीहरुको प्रेमको प्रतीक मानिन्छ । यसमा कुसमा र सलहेस प्रकट हुने भनाइ व्यापक छ । यही फूल हेर्न हरेक वर्ष हजारौ मानिस यहाँ आउँछन् । वनस्पतिविदहरुका अनुसार हारमको रुखमा फुल्ने फूल सुनाखरी जातको फूल हो । यो वसन्त ऋतुमा फुल्ने गर्दछ । ऋतुअनुसार फूल फूल्नु कुनै चमत्कार होइन ।
स्थानीयवासीहरु त्यो फूललाई सलहेस र कुसमाको प्रेमको प्रतीक माने पनि वनस्पतिविदहरुले मार्च–अप्रिलमा (फागुनको अन्तिमदेखि वैशाखसम्म)मा फुल्ने सुनाखरी जातको फूल भनेका छन् ।
सलहेस फूलबारीको त्यो फूल
स्थानीयवासीहरु त्यो फूललाई सलहेस र कुसमाको प्रेमको प्रतीक माने पनि वनस्पतिविदहरुले मार्च–अप्रिलमा (फागुनको अन्तिमदेखि वैशाखसम्म)मा फुल्ने सुनाखरी जातको फूल भनेका छन् । समुद्री सतहको १०० मिटरदेखि १,६०० मिटरको उचाइमा जंगली क्षेत्रमा उम्रिने यो फूल नेपालमा मात्र नभई भारत, भुटान, बर्मा (म्यानमार), चीन, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया लगायतका देशमा पाइन्छ ।
डेन्ड्रोबियम अफायलम (Dendrobium aphyllum) वैज्ञानिक नाम रहेको यस फूललाई सर्वप्रथम भारतीय वनस्पति विज्ञानका पिता मानिने विलियम रोक्सवर्गले दक्षिण–पूर्वी भारत क्षेत्रमा पत्ता लगाएका थिए । मद्रासमा बस्ने स्कटल्याण्डका रोक्सवर्गले सन् १७९५ मा लेखेको प्लान्टस् अफ दी कोस्ट अफ कोरोम्यान्डलमा यस फूलबारे पहिलो पटक उल्लेख गरिएको बताइन्छ । उनले यसलाई लिमोडोरम अफायलम नाम दिएका थिए । वनस्पतिशास्त्री फिस्चर थप अनुसन्धानपछि यसलाई डेन्ड्रोबियम अफायलम नाम दिएका थिए । यो सुनाखरीका करिब पन्ध्र सय प्रजातिमध्ये एक बताइएको छ ।
अरु वनस्पतिको सहारामा फुल्ने डेन्ड्रोबियम अफायलमका अन्य नाम पनि थिए । अठारौं शताब्दीमा पत्ता लागेको डेन्ड्रोबियम अफायलम उनाइसौं–बीसौं शताब्दीमा डेन्ड्रोबियम पियरार्डी नामले परिचित थियो । यो नाम सन् १८२२ तिर वनस्पतिविद्ध सर विलियम हुकरले प्रचारमा ल्याएका थिए । त्यही बेला अर्का वनस्पतिशास्त्री रोबर्ट ब्राउनले डेन्ड्रोबियम कुकुल्याटम भनी चिनाएका थिए । तर सन् १९८५ मा डेनमार्कका वनस्पतिविद्ध गुन्नार सिडेन्फाडनले यस फूलको नाम डेन्ड्रोबियम अफायलम नै रहेको निर्क्यौल गरे ।
माला आकारमा फुल्ने यो फूलको लम्बाइ २० देखि २०० सेमीसम्म हुने गरेको छ । १ देखि ३ सेमीसम्म चौडाइ हुने यसको पातको लम्बाइ ३ देखि १० सेमीसम्म हुने गरेको छ । फूलको चौडाइ भने ४ देखि ५ सेमीसम्म हुन्छ । एकचोटि फूलेपछि कम्तीमा एक हप्तासम्म यो फूल ताजा रहने गरेको पाइन्छ ।
उचनीचको भावना बोकेको नेपाली समाजमा सलहेस फूलबारी मेला सामाजिक समावेशीकरणको प्रतीक बनेको छ । सलहेसप्रतिको आस्थाले दुसाद (पासवान)लाई तल्लो जात मान्नेहरुलाई पाठ सिकाएको छ : मानिस जातले ठूलो–सानो हुने होइन ।
फूल फुल्दा लाग्छ मेला
डेन्ड्रोबियम अफायलम फुल्ने सलहेस फूलबारीमा नयाँ वर्षको दिन भव्य मेला लाग्दछ भने २ गते पकरियागढमा मेला लाग्दछ । सलहेससँगै सम्बन्धित पकरियागढ लहानबाट उत्तर दिशामा रहेको छ । इतिहासकारहरुका अनुसार तेह्रौं शताब्दीमा पकरियागढ एक राज्य थियो । त्यहाँका राजा थिए कुल्हेश्वर । एक दिन सलहेसले एउटा हरिणको शिकार गरे । संयोगवश त्यो पकरियागढकी राजकुमारी फूलमन्तीले पालेको हरिण परेछ । कुल्हेश्वरले सलहेसलाई डायस खेल्न निम्तो दिए ।
खेलमा सलहेस पराजित भएपछि कुल्हेश्वरले उनलाई सजाय दिए । १२ वर्षदेखि चौकीदारी गर्दै आएका चुहडमललाई हटाएर सलहेसलाई चौकीदार बनाइयो । चुहडमलले उनी आएर आफ्नो काम खोसिएको रिसमा आफ्नो घरदेखि दुई माइल लामो सुरुङ खनेर राजाको घरमा चोरी गरे । राजा बाहिर गएको बेला चोरी भएपछि चोरीको आरोप सलहेसमाथि लगाइयो । उनीमाथि चोरीको आरोप लागेको थाहा पाएपछि चारैजना मालिनी दिदीबहिनी पकरियागढ पुगे । कुसमा र दौनासँग भविष्यवाणी गर्ने क्षमता थियो । यही गुणको आधारमा चोर पत्ता लगाइयो ।
अर्को किंवदन्तीअनुसार एक दिन सलहेस सुगा (हिरामान)को रुपमा पकरियागढ गए । यो कुरा थाहा पाएपछि सुगालाई राजकुमारी फूलमन्तीले समातिन् । उनलाई सत्यवति पनि भनिन्छ । उनले राजाको इच्छाविपरीत सलहेससँग बिहे गर्न चाहिन् ।
सलहेसलाई पकरियागढमा समातेर राखिएको थाहा पाएपछि उनका भाइहरु मोतीराम र बुधेश्वरले एक जना हजामलाई त्यहाँ पठाए । तर त्यहाँका राजाले छाड्न नमानेपछि सलहेसकी बहिनी वनसपति र उनका छोरा कोरीकिन्हा पकरियागढ पुगे । कोरीकिन्हामा भीमजतिकै बलियो रहेको किंवदन्ती छ । कोरीकिन्हा र त्यहाँका राजाबीच ठूलो विवाद भयो । विवादपछि सलहेस पकरियागढबाट महिसोथा फर्के ।
वैशाख १ गते सलहेस फूलबारी हरेक वर्ष बेहुलीझैं सिँगारिन्छ भने त्यहाँ उत्सवी माहौल हुन्छ । स्थानीयस्तरमा फूलबारी मेला संस्कृति बनिसकेको छ । उचनीचको भावना बोकेको नेपाली समाजमा सलहेस फूलबारी मेला सामाजिक समावेशीकरणको प्रतीक बनेको छ । सलहेसप्रतिको आस्थाले दुसाद (पासवान)लाई तल्लो जात मान्नेहरुलाई पाठ सिकाएको छ : मानिस जातले ठूलो–सानो हुने होइन । पराक्रम, ख्याति एवम् मानवताले मानिस ठूलो हुन्छ ।
आस्थाको केन्द्र बनेको सलहेस फूलबारी अचेल बेसहारा भएको छ । राज्यबाट संरक्षणको अभाव छ । राजमार्गसँगै जोडिएकोले सलहेस फूलबारीलाई पर्यटकीय केन्द्र बनाउन सकिन्छ । यतातिर सरकारसँगै नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय उदासीन छन् । ऐतिहासिक महत्व बोकेको प्राकृतिक सम्पदाप्रति राज्यको ध्यान जानु जरुरी छ । फूलबारीवरिपरि रहेको जमिनको मुआब्जा दिई सलहेस–ग्राम बनाउन सकियो भने सलहेस फूलबारीले वर्षौं इतिहास जीवन्त बन्छ । फूलबारी वरिपरि मान्छेको बसोवास बढ्दै गएकोले इतिहास मेटिने खतरा बढ्दो छ ।