09/06/2023
चर्चित TV Journalist रुपेश श्रेष्ठ लेख्छन्ः
इलाम बजारलाई गुनासो रहेछ। फिक्कल कन्यामतिर पुग्ने पर्यटकले दु:ख पाए भने 'इलाममा यस्तो भो' भन्छन्। सिङ्गै इलामको नाम आएपछि इलाम बजारलाई भने दुख्दो रहेछ। दुख्दो त कन्याम-फिक्कलसम्म पुग्ने पर्यटक इलाम बजार नपुग्नाले पनि दुख्दो हो। इलाम भनेकै कन्याम हो भनेर हामीले बुझिदिनाले पनि इलाम बजारलाई दुख्दो हो। इलाम बजारबाट हिँड्दै गर्दा आफू बसेको होटलका संचालक दाजुलाई मैले नै गुनासो गरेँ - इलाममा होटलहरूको सेवा पर्यटकमैत्री भएनन् हाउ दाजु। संजोग कस्तो, ती होटेल संचालक त्यताको होटेल संघका अध्यक्ष रहेछन्। 'हो, हामीले सिक्न बाँकी धेरै छ । तर कन्यामतिरको गुनासो हामीतिर नबिसाउनु न।' अलि लामै प्रवचनको उनको आशय दुई वाक्यमा यस्तो थियो । आफू इलाम बजार तिरै फनफनी घुमेर उनकामा बास बस्न पुगेको, धन्न उनकोमा चित्तबुझ्दै मेजमानी पाइयो।
उतिबेला पूर्वतिरकै होटल व्यवसायीसँगको कार्यशालामा भनेको कुरा सम्झेँ, 'तपाईँका कर्मचारीलाई मोबाइलमा नहेरी ग्राहकसँग बोल्न सिकाउनुस्, ग्राहकले कस्तो सेवा खोजेको हो, नम्र भएर सोध्न सिकाउनुस्, आफूले दिन नसक्ने सेवाको बारेमा हाँसेरै खुलस्त भन्न सिकाउनुस्, त्यस्तो सेवा नजिकै अन्त पाइन्छ भने ग्राहकलाई त्यसबारे जानकारी दिन सिकाउनुस्, दैलोमा आएको ग्राहकलाई कसरी नफर्काउने हो - तरिका अपनाउनुस् र कर्मचारीलाई सिकाउनुस्, स्थानीय उत्पादन उपभोग गर्न ग्राहकलाई प्रेरित गर्नुस्, विकल्पहरू पनि पेश गर्नुहोस्, मेन्यू बेच्नुस् तर हस्पिट्यालिटिलाई मेन्यूमा कैद नगर्नुस्', आदि इत्यादि।
म काम सकेर डुल्न हिँडेको हुँदा आफ्नो परिचय पनि खुलाइनँ र धेरै बोलिनँ पनि, बरु सके जति सुन्न खोजेँ । 'हो दाजु, तर तपाईँकोमा राम्रै रहेछ। अन्त पनि सिकाउनुहोला। इलामलाई अझै happening बनाउनुपर्छ। हामी त आइरहने हो' भनेर विदा भइयो।
यसपालि झापादेखून् मोटरसाइकलमा हिँडिया'थ्यो र रोक्दै रोक्दै फोटो खिच्न पाइयो।