01/05/2024
देशिक रोजगारीमा रहेका श्रमिकको हक–अधिकारप्रति राज्यको ध्यान किन छैन ?
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिकहरूको सम्मान र श्रमिक आन्दोलनमा बलिदानी दिएकाहरूप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । यस दिन विश्वका ८० भन्दा बढी देशमा आधिकारिक रूपमा सार्वजनिक बिदा दिइन्छ भने कतिपय देशहरूमा दिइँदैन । विशेषगरी खाडीका देशमा यो अनिवार्य रूपमा कार्यान्वयनमा आइसकेको छैन । त्यहाँका अफिसहरू खुला हुने र यस दिन त्यहाँका श्रमिक मजदुरहरू नियमित कार्य क्षेत्रमा जाने गरेको पाइन्छ । कतिपय अरब देशमा यो दिनलाई सरकारी रूपमा मनाउने गरे पनि त्यहाँका प्राइभेट कम्पनी र कार्यालयहरूलाई बाध्यकारी बनाइएको छैन । आजको दिन काम गरेबापत नियमित रूपमा पाउने सेवा–सुविधा अतिरिक्त केही नपाएको गुनासो श्रमिकका मुखबाट सुनिन्छन् । एक सय ३६ वर्षअघि अमेरिकामा यो दिवस मनाउन थालिएको थियो । अमेरिकाका कामदारले आफ्नो कामको अवस्था सुधार गर्न हडताल सुरु गरे । किनभने त्यहाँका मजदुरलाई दिनमा १५ घन्टा काम लगाउने गरिन्थ्यो । उनीहरूको एउटै माग थियो, १५ घण्टालाई आठ घण्टामा झार्नुपर्ने । यही मागलाई लिएर १८८६ मे १ मा अमेरिकाको सिकागो सडकमा धेरै मजदुर उत्रिए । अमेरिकाको परिस्थिति बिग्रँदै गएको देखेर राज्यद्वारा आन्दोलनरत मजदुरमाथि गोली चलाइयो । सयौँको संख्यामा आन्दोलनरत मजदुर घाइते भए दर्जनौँको ज्यान समेत गयो । यसैलाई ध्यानमा राख्दै सन् १८८९ मा भएको अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनको दोस्रो बैठकबाट मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने प्रस्ताव पारित भयो र यस दिन बिदा दिने चलन बसालियो । साथै श्रमिकहरूले आठ घन्टाभन्दा बढी काम गर्नुनपर्ने निर्णय पनि स्वीकृत भयो ।
भारतमा श्रमिक दिवस
सन् १९२३ तिर भारतको चेन्नेईमा वाम मजदुरहरूले आफ्नो सङ्घ–सङ्गठनभित्र मजदुर दिवस लुकिछिपी मनाउने गर्थे । त्यसपछि बिस्तारै यो झिल्को भारत देशका धेरै मजदुर सङ्गठनहरूसम्म फैलियो । मजदुर दिवस मनाउनुको मुख्य उद्देश्य श्रमिकहरूको सङ्घर्षका बारेमा बताउनु हो र उनीहरूले गरेका बलिदानहरूको सम्झना गर्नु हो भनेर भारतीय वामपन्थीले श्रमिकहरूलाई सम्झाउँथे ।
उक्त दिन मजदुरको कामको प्रशंसा गरिन्थ्यो । विगतमा मजदुरहरुले आन्दोलन गरेर हासिल गरेको उपलब्धिलाई उनीहरूले आफ्नो अधिकारको ठान्थे; श्रमिकमाथि भएका दमन, शोषणविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्थे । यसरी वामपन्थीहरूले आजको दिनलाई श्रमिक दिवसका रूपमा मनाउने थाले । आज भारतभर यो दिवस मनाइन्छ ।
नेपालको हकमा भने २००३ सालमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो ।
पद्मशमशेर राणाको सरकारले त्यसलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेतालाई पक्राउ गर्यो । २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान बिन्दु त्यही आन्दोलन बन्न पुग्यो ।
कतिपय देशमा नेपाली, भारतीय र फिलिपिन्सका नागरिकले प्राप्त गर्ने पारिश्रमिक फरक–फरक छन् । नियम–कानुन बने पनि नेपाल सरकारको कूटनीतिक नियोग सक्रिय नहुँदा हाम्रा श्रमिक मारमा परेका छन् ।
नेपालमा श्रम बहसको इतिहास लामो छैन । १९१० सालमा बनेको मुलुकी ऐन शास्त्रसम्मत थियो । त्यतिबेला मानिसलाई खासै अधिकार थिएन । प्रजातन्त्रपछि विभिन्न आवाज उठ्न थाले पनि देशमा लोकतन्त्र नआउँदासम्म श्रम बहसले ठोस रुप लिएन ।
नेपालको संविधानको धारा ३३ ले नागरिकलाई रोजगारको हक र धारा ३४ ले श्रमको हक दिने उल्लेख गरे पनि आजसम्म राज्यले नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न सकिरहेको छैन । आज लाखौँ युवा खाडी मुलुकमा सस्तोमा श्रम बेच्न बाध्य छन् ।
‘इक्वेल भ्यालु अफ वर्क’को सिद्धान्त अनुसार समान कामका लागि पारिश्रमिकमा रोजगारदाताले कामदारप्रति भेदभाव गर्न पाइँदैन । कतिपय देशमा नेपाली, भारतीय र फिलिपिन्सका नागरिकले प्राप्त गर्ने पारिश्रमिक फरक–फरक छन् । नियम–कानुन बने पनि नेपाल सरकारको कूटनीतिक नियोग सक्रिय नहुँदा हाम्रा श्रमिक मारमा परेका छन् ।
संविधानमा श्रमको हक र रोजगारीको हक उल्लेख भए पनि राज्यले श्रमशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकेको छैन । श्रमिकको स्वास्थ्य र सुरक्षाको मुद्दामा समेत राज्य उदासीन बन्दै आएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को एक प्रतिवेदन (सन् २०१६) अनुसार ६३ हजार श्रमिक हरेक दिन कार्य क्षेत्रमा दुर्घटनाका कारण मर्छन् र प्रतिवर्ष २३ लाखभन्दा बढी मृत्यु कामसम्बन्धी रोगले हुने गर्छ ।
वैदेशिक रोजगारमा गएका हाम्रा नेपाली श्रमिकले हरेक दिन जोखिमको जीवन बाच्नुपर्ने खतरा उत्तिकै छ, तर हाम्रो सरोकारवाला यति निकम्मा र लाचार छ कि उसले पचासौँ लाख युवालाई रेमिट्यान्सको कारखाना ठान्छ, उद्योग कलकारखाना खोल्दैन ।
कतिपय देशमा नेपाली, भारतीय र फिलिपिन्सका नागरिकले प्राप्त गर्ने पारिश्रमिक फरक–फरक छन् । नियम–कानुन बने पनि नेपाल सरकारको कूटनीतिक नियोग सक्रिय नहुँदा हाम्रा श्रमिक मारमा परेका छन् ।
विश्व श्रम बजारमा पुगेका नेपाली श्रमिकको दिन प्रतिदिन स्वास्थ्यमा प्रतिकूल समस्या देखिँदै छ । विदेशमा कामदारहरुलाई उच्च रक्तचाप, श्वासप्रश्वास सम्बन्धी रोग, छाला रोग, हृदय रोग, यौन रोग, मिर्गौला ड्यामेज, प्रजनन क्षमतामा कमी र मस्कुलोस्केलेटल आदिजस्ता समस्या हुने गरेको पाइन्छ ।
नेपाल सरकारले विश्व श्रम बजारमा देखिएको यस्तो भयावह अवस्थाप्रति ध्यान दिएको पाइँदैन । राज्य स्तरबाट नेपाली श्रमिक पुगेका कार्यस्थलमा पर्यवेक्षण, निरीक्षण, अनुगमन, सुपरीवेक्षण हुन आवश्यक छ । श्रमिकको पारिश्रमिक समयसापेक्ष छ वा छैन भनी हेरिनुपर्छ र श्रम सम्झौतामा पुनरवलोकन आवश्यक छ । होइन भने आजको दिन मात्र शुभकामना सन्देश जारी गरेर र बिदा दिएर केही हुँदैन । उक्त शुभकामना सन्देश फगत चिर्केटो भन्दा केही हुनेछैन । श्रमिकप्रति उपेक्षा हुनेछ ।