25/06/2023
३ वर्षपछि नेपालबाट कैलाश मानसरोवर यात्रा खुला
कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुला भएको छ। पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो। जसलाई चीनले खुला गरेको छ। अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्ने अनलाइन खबरले लेखेको छ।
चीनले यस पटक आफ्नो भिसा नीतिमा केही परिवर्तन गरेको छ। विगतमा सामूहिक भिसा दिने गरेकोमा यस पटकदेखि एक पटकमा कम्तीमा ४ जनासम्मले वायोमेट्रिक समेत दिनुपर्ने गरी भिसा नीति चीनले लिएको छ। सोहीकारण पूर्वी वा पश्चिम नेपालबाट मानसरोवर जान चाहने नेपाली भिसा प्रक्रिया पूरा नभएसम्म काठमाडौंमै रहनु पर्ने भएको छ।
भारतीय पर्यटकका लागि भने नेपालको बाटो हुँदै मानसरोवर यात्रा अझै खुला नभएको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाले जानकारी दिनुभएको छ। विगतमा नेपालबाट भारतीय नागरिकले चीन प्रवेशको अनुमति पाउने गर्थे। अहिले भने गैरआवासीय भारतीय बाहेक भारतीय पासपोर्ट हुनेहरुले कैलाश मानसरोवर यात्रामा जान अनुमति पाउँदैनन्। पछिल्लो तीन वर्षदेखि यात्राको योजना बनाएर पनि जान नपाएका नेपाली तीर्थालुले भने अब मानसरोवर यात्रामा जान सक्ने सापकोटाले जानकारी दिनुभयो। कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि सेप्टेम्बरसम्म हो।
अहिले हुम्लाको हिल्सा र रसुवागढी नाकाबाट मानसरोवर यात्रा खुला भएको छ। गत वैशाखदेखि हुम्लाको हिल्सा नाका दुईतर्फी खुला गरिएको छ। अब यो नाकाबाट मानिस र कार्गो दुवैका लागि खुला भएको हो। चीनको अर्को नाका रसुवागढी समेत दुईतर्फी खुला भएसँगै मानसरोवर यात्रामा जानेहरुलाई सहज भएको हो।
कैलाशमा जाने अर्को रुट काठमाडौं–ल्हासा हवाई मार्ग समेत हो। यो रुटबाट जानेहरुले भने काठमाडौंबाट ल्हासा सम्म जहाजमा पुगेर त्यहाँबाट १५ सय किलोमिटर सडक यात्रा गरी कैलाश पुग्नु पर्छ। कैलाश मानसरोवर यात्रालाई तीर्थालुहरु तीर्थहरुको पनि तीर्थ अर्थातः ‘महातीर्थ’ मान्छन्। चीनको भूमिमा मानसरोवर ताल समुन्द्री सतहबाट ४ हजार ५९० मिटरको उचाईमा अवस्थित छ।
नेपालबाट कैलाश मानसरोवर यात्राका लागि अहिले न्यूनतम १ लाख ६५ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्मका प्याकेज बिक्री भइरहेको टानका महासचिव सापकोटाले जानकारी दिनुभएको छ। सामान्यतया १० दिनभन्दा माथिको यात्रापछि मात्र मानसरोवर यात्रा सम्पन्न हुन्छ। मूल्य समय र प्याकेज सुविधा अनुसार फरक फरक पर्ने समेत उनले जानकारी दिनुभयो।
सडक मार्गबाट जाँदा काठमाडौं–केरुङ–सागा–मानसरोवर ताल–माउण्ट कैलाश रुट हुँदै यात्रा गर्ने गरिन्छ। हेलिकप्टर वा काठमाडौं–ल्हासा जहाजमा यात्रा गर्दा यस्तो प्याकेज सडक मार्गको तुलनामा महँगो पर्छ।