22/09/2014
रातको समयमा कालीन्चोक डाडा लाई हेर्दा
नेपालको राष्ट्यि दैनिक पत्रिका नागरिकले दोलखालाई नेपालको घुम्नैपर्ने १३ गन्तव्यमा समाबेस गरि, शनिबार विशेष अंकमा दोलखाको बारेमा यसरी लेख्दछ...
भीमेश्वर, कालिञ्चोक, जिरी, शैलुङ र गौरीशंकर दोलखाको आकर्षण। दोलखामा भीमेश्वर मन्दिर छ। भीमसेन मूर्तिलाई रुद्री पूजा गर्दा रुद्र, बलिपूजा गर्दा भगवती र दिउँसो पूजा गर्दा विष्णु मानिन्छ। जे सम्झेर पूजा गरे पनि हुन्छ।
भीमसेन नेवारका इष्ट देवता। भीमेश्वर हातामा कुमारी घर, त्रिपुरा सुन्दरी, तलेजु भवानी, महादेव मन्दिर र चैत्य छन्। दोलखाका राजा जयइन्द्रसिंह देवेल शासनकाल (विसं १५९१ देखि १६०५ सम्म) मा चाँदीको सिक्का प्रचलनमा ल्याएका थिए। टक्सार भवन जीर्ण छ।
संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठले दोलखाको नेवार बस्ती काठमाडौंभन्दा पुरानो भएको भन्दै खोजी अभियान चलाएका छन्। नेवार तिब्बतबाट दोलखा हुँदै काठमाडौं पसेको उनको तर्क छ। बस्तीमा नेवार, थामी, तामाङ आदि बस्छन्।
दोलखा बजारमा होटल, लज छन्। साढे चार किलोमिटर वर चरिकोटमा पानोरमा, शुभेच्छा, संगम र लक्ष्मीलगायत दुई दर्जन पर्यटकीय होटल छन्।
चरिकोटबाट गौरीशंकर हिमाल देखिन्छ। माथि कालिञ्चोकबाट दर्जनौं हिमाल देखिन्छ। चरिकोट–कालिञ्चोक १७ किमि। डाँडा (३,७०० मिटर) मा भगवती छिन्। दिनै सयौं नेपाली पुग्छन्। हिन्दु र बौद्धमार्गीको साझा तीर्थ कालिञ्चोक। चरिकोटबाट कि रिर्जभ जीपमा जानुपर्छ कि पाँच घन्टा पदयात्रा गर्नुपर्छ।
कालिञ्चोक बेसक्याम्प कुरीमा होटल छन्। कुरीबाट पौने घन्टामा मन्दिर पुगिन्छ।
नेपाली घुम्न रुचाउने अर्को गन्तव्य जिरी हो। चरिकोटबाट ५५ किलोमिटर पर छ। जिरीलाई नेपालको स्विटजरल्यान्ड भनिन्छ। जिरीमा जिरेश्वर छन्। गुम्बा छ। चिया बगान छ। बजारमाथिको च्योर्दोङ चीज कारखानामा कात्तिकसम्म चीज उत्पादन हुन्छ। स्वीस सरकारको सहयोगका कारखाना २०३१ मा खुलेको।
जिरी सगरमाथाको प्रवेशद्वार हो। उहिल्यै एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा यतैबाट सगरमाथा चढ्न गएका थिए। लुक्लामा विमानस्थल बनेपछि धेरैजसो उड्छन्।
बजारमा जिरेल गाबिला, गौरी हिमाल, च्योर्दोङ लज, पारस, हेमन्त, हिल टाउन क्याफे, सगरमाथा, न्यु एभरेस्ट, अन्नपूर्ण, शेर्पा गेस्ट हाउस र गौरीशंकरलगायत सुविधायुक्त होटल छन्। कालिञ्चोक उचाइमा भएकाले न्याना कपडा चाहिन्छ। कालिञ्चोक, जिरी र चरिकोटमा छुर्पी, चज, चौंरीको घ्यु पाइन्छ। तीनै ठाउँमा एक–एक रात बिताउन ६५ सय रुपैयाँ बोक्नुपर्छ। त्यसले खाना, बसभाडा र बासलाई तिर्न पुग्छ।
कसरी पुग्ने : काठमाडौं–दोलखा बजार १३७ किमि।
वर्षमा ६० हजार नेपाली भीमेश्वर दर्शन गर्छन्। आजका युवा मन्दिर धाउन थालेका छन्। उनीहरूमा आध्यात्मिक भावना देखिन्छ। भीमेश्वरमा मात्रै होइन, कालिञ्चोकमा पनि भीड लाग्छ। जिरीमा पनि बढ्दै छन्।